अर्थ

ट्रम्पले फ्रड भनेका कार्यक्रममा अनुदान आइसकेको छैन : अर्थ मन्त्रालय



काठमाडौँ, १२ फागुन । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल लगायत केही देशमा अमेरिकी सहयोग नियोग यूएसएडले गरेका लगानीलाई ठगी (फ्रड) भएको बताएका थिए ।

त्यसमा नेपालको जैविक विविधता सम्बन्धी कार्यक्रम र वित्तीय संघीयता सम्बन्धी कार्यक्रम रहेको ट्रम्पले उल्लेख गरेका थिए । तर, ट्रम्पले उल्लेख गरेका ती कार्यक्रम अहिले डिजाइनकै चरणमा रहेका र त्यसमा अनुदान प्राप्त भई नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

ट्रम्पले नेपाललाई दिएका केही अनुदानका कार्यक्रमलाई ‘फ्रड’ बताएपछि त्यसबारे नेपालको संसदमा पनि छलफल भइरहेको छ । ती कार्यक्रमको सम्झौता भई नसकेको हुँदा सहयोग प्राप्त नभएको अर्थले जनाएको छ ।

‘जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन कार्यक्रम अहिले डिजाइनको क्रममा रहेकाले उक्त आदेशबाट यी कार्यक्रम समेत रोकिएको अवस्था रहेकाले तिनमा सहयोग प्राप्त भइसकेको छैन,’ अर्थ प्रवक्ता श्याम भण्डारीले जारी गरेको विज्ञप्तिमा छ ।