राजनीति

नेपाल मानवअधिकार रक्षा र प्रवर्धनमा प्रतिबद्ध छ : मन्त्री राणा



जेनेभा, १३ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रहिआएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई जेनेभामा सम्बोधन गर्दै मन्त्री डा. देउवाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपाल विश्वकै एक अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदैआएको बताउनुभएको हो । 

मन्त्री डा देउवाले भन्नुभयो “नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारलाई मौलिक अधिकारका रुपमा समेटेको छ । नेपाल सरकार लोकतान्त्रिक मूल्य मान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रही आएको छ ।”  

नेपालमा हाल लोकतन्त्र र मानवअधिकारका लागि लामो समयदेखि संघर्ष गर्दैआएका राजनीतिक दलहरुको सरकार रहेकाले पनि नेपाल सरकार प्रजातन्त्र र मानवअधिकारको रक्षा तथा प्रवर्धनप्रति थप प्रतिबद्ध रहेको उहाँले स्पष्ट गर्नुभयो ।