राजनीति

हामी कुनै उपद्रो गर्दैनौं : महामन्त्री थापा



प्यूठान, १३ फागुन । नेपाली कांग्रेसले इमानदारिताका साथ यो सरकार सञ्चालन गर्ने पार्टीका महामन्त्री गगन थापाले बताएका छन् ।

सोमबार प्यूठानको शिवालयमा भएको आमसभालाई सम्बोधन गर्दै यस समयावधिमा सरकारबाट अधिकतम उपयोग गर्न चाहेको उनले बताए । ‘हामी इमान्दार भएर आफ्नो भूमिका निर्वाह गर्छौं, गर्न चाहन्छौं’, महामन्त्री थापाले भने, ‘अहिले भएको समझदारीमा हाम्रो इमान्दारिता रहन्छ, हामी कुनै चकचक गर्दैनौं। हामी कुनै उपद्रो गर्दैनौं, हामी यताबाट उफ्रेर उता पनि जाँदैनौं ।’

गणतन्त्र, समावेशी, समानुपातिकजस्ता एजेन्डाहरूलाई थप बलियो बनाउँदै संविधानभित्रका केही कुरा संशोधन आवश्यक रहेको उनले बताए । तीन तहका सरकारहरूलाई बलियो बनाउने, संसद् तथा मन्त्रीहरूको संख्यालाई कम गर्ने, जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने जस्ता विषयहरूमा संशोधन आवश्यक रहेको उनको भनाइ थियो । १० वर्ष संविधान कार्यान्वयनका क्रममा देखा परेका जटिलताहरूलाई अनुभवका आधारमा संशोधन गरिने महामन्त्री थापाले बताए ।