समाचार

लुम्बिनीमा फागुन २० देखि त्रिपिटक वाचन गरिने



काठमाडौँ, १३ फागुन । अखिल नेपाल भिक्षु महासङ्घले यही फागुन २० देखि २५ गतेसम्म लुम्बिनीमा त्रिपिटक वाचन गर्ने भएको छ ।

मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा बौद्ध साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) गर्न लागिएको हो ।

शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि करिब ४५ वर्षसम्म विभिन्न स्थानमा निरन्तर प्रदान गरेका उपदेश तथा आध्यात्मिक ज्ञान सङ्ग्रहित ग्रन्थ त्रिपिटक हो । महासङ्घका कोषाध्यक्ष भिक्षु बोधिज्ञानका अनुसार अभिधर्म, सुत्र र विनय गरी तीन भागमा वर्गीकरण गरिएको त्रिपिटकलाई बौद्ध साहित्यमा मूल ग्रन्थ मानिएको छ ।