राजनीति

उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्छः उपराष्ट्रपति यादव



काठमाडौँ, १४ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले यसबाट आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो । शिवको आराधना र भक्तिको माध्यमबाट धार्मिक आस्था र विश्वासलाई बलियो बनाउँदै मानिसको मन, वचन र कर्ममा शुद्धीकरण गर्नमा सहयोग गर्ने र समाजमा एकता, सहयोग र सद्भावलाई बढावा दिने यो पर्वलाई आपसी मनोमालिन्यता, मतभेद र द्वेषलाई बिर्सने अवसरका रूपमा उपयोग गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।

 उहाँले भन्नुभएको छ, “विभिन्न शिवालय, शिव मन्दिर, महादेव मठलगायत धार्मिकस्थलमा मेलाहरूको आयोजना हुनुले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्दछ, यसले आर्थिक गतिविधि वृद्धि भई मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ । यो पवित्र पर्वले काम, क्रोध, लोभ, मोह र अहङ्कार त्याग्न सबैलाई उत्प्रेरित गर्न सकोस्, नेपाल र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सतधर्म स्थापित गर्दै आध्यात्मिक उन्नतिका लागि सबैलाई अनुकूलित हुने अवसर पनि यो पर्वले प्रदान गरोस् ।”