समाचार

झडपमा एक जनाको मृत्यु



नवलपरासी, १४ फागुन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार झडपमा परी ज्यान गुमाउनेमा  पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको छ । धवलको भैरहवाको सिटी अस्पतालमा उपचारका क्रममा हिजो साँझ ज्यान गएको हो ।

झडपमा परी घाइते भएका मोहरम पावारिया र बैजनाथप्रसाद लोनियको भने अहिले सिटी अस्पतालमा उपचार भइरहेको छ ।

हिजो बिहान १० बजे सामान्य विवादमा दुई पक्षबीच झडप भएको थियो । झडपमा १९ जना घाइते भएका थिए । झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको (जनपद) बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी गरिएको थियो । घाइते हुनेमा नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना रहेका छन् ।

प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि पाँच राउण्ड अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो । अहिले झडप भएको ठाउँमा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।