समाचार

राराको एक होटेलमा आगलागी हुँदा चार भवन नष्ट



काठमाडौँ, १५ फागुन । मुगु जिल्लाको रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । 

प्रहरीका अनुसार आगोबाट काठैकाठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।  

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जनाको प्रहरी टोली रारा पुगेको थियो । होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिन्डर पड्कदा अन्य तीनवटा भवनमा क्षति पुगेको थियो । 

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटेलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटेल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो ।