समाचार

फोहोरले छोपेको अवस्थामा सुकेधारामा शव फेला



काठमाडौँ, १५ फागुन । काठमाडौँको सुकेधारास्थित धोबीखोला करिडोर नजिक फोहोरले छोपेको अवस्थामा शव भेटिएको खुलेको छ ।

शव नदेखियोस् भन्ने हिसाबले पुरानो शौचालयमा फोहोरले छोपेर लुकाएको जस्तो प्रारम्भिक जाँचमा देखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । बुधबार राति धोबिखेला करिडोर नजिक ओलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थायी घर भएका ५० वर्षीय अड्विर राईको शव भेटिएको थियो ।

शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी निरञ्जन थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । फोहोर हटाएर शव निकालेको थियो । अहिले घटनास्थल आसपासको सीसी टीभी फुटेज लगायतका अन्य प्राविधिक पक्षको विश्लेषण गरेर थप जाँच भइरहेको छ ।

शंकास्पद देखिएपछि यो प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समेत जाँच गरिरहेको छ ।