काठमाडौँ, १६ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’अन्तर्गत बैंक वित्तीय संस्थाले बाँसजन्य उद्योगमा लगानी बढाउन सक्ने बताएका छन् ।
आजदेखि खोटाङको सदरमुकाम दिक्तेलमा आयोजित ‘प्रथम बाँस सम्मेलन २०८१’को उद्घाटन सत्रमा गभर्नर अधिकारीले राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई ग्रिन फाइनान्सिङमा जान प्रेरित गरेको भन्दै यसअन्तर्गत बाँसजन्य उद्योग उपयुक्त विकल्प हुन सक्ने बताए ।
तर, बैंकहरूले व्यवसायको आकार तथा तिर्न सक्ने क्षमता हेर्ने भएकाले त्यसअनुसार तयार भएर व्यवसायीले फाइदा लिन सक्ने अधिकारीको भनाइ छ । धेरै जोखिम भएका र वातावरणलाई असर गर्ने क्षेत्रमा बैंकहरूले लगानी गर्दा बैंकहरूलाई नै महँगो पर्ने अधिकारीले बताए । बैंकहरूले बढी जोखिम भएका क्षेत्रमा लगानी गर्दा क्यापिटल चार्ज बढी राख्नुपर्छ ।
राष्ट्र बैंकले बैंकहरूलाई अनिवार्य ग्रिन फाइनान्सिङमा जान भनेको उनले बताए । हामीले भर्खरै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी, २०२४’ पनि जारी गरेका छौँ,” अधिकारीले भने, “ग्रिन फाइनान्सअन्तर्गत बाँस प्लान्टेसन (वृक्षरोपण) तथा बाँसको काम गर्ने क्षेत्रमा बैंक वित्तीय संस्थाको लगानी प्राथमिकतामा पर्न सक्छ ।”
प्रतिक्रिया दिनुहोस्