राजनीति

युवा जनशक्तिको पलायन हुनबाट जोगाउन राष्ट्रपति पौडेलको आग्रह



कास्की, १७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका छन् ।  

श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव २०८१ एवम् देवालय सराङकोट धामको उदघाट्न समारोहमा समारोहलाई सम्बोधन गर्दै उनले जनताको लामो संघर्ष, त्याग र बलिदानबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउँदै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि मुलुकको आर्थिक विकास भएको स्पष्ट पारेका हुन् । 

राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे । उनले भने–‘युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय हो । यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनुन् भन्ने मेरो आग्रह छ ।’ 

उनले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे ।