समाचार

जुम्लामा वर्षा र हिमपात



जुम्ला, १७ फागुन । हिमपात र वर्षा हुँदा जुम्लाका किसानलाई राहत पुगेको छ ।

हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । 

उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए । ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । 

जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ । जहाँ किसानले आकाशे वर्षात्का भरमा  जौँ, गहुँ बाली लगाउने गर्छन् । हिमपातका कारण जौँ, गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको छ ।