मुस्ताङ, १८ फागुन । पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबिचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ।
हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदा उपल्लो मुस्ताङका किसानको सदियौँ वर्ष पुरानो पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।
जिल्लामा हिमचितुवाको एकीन तथ्याङ्क छैन । अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको उपल्लो मुस्ताङमा हिमचितुवाले चरन क्षेत्र, खर्क र पशु गोठमै पसेर पशुधनको क्षति गरिदिँदा उपल्लो मुस्ताङका पशुपालक किसानको व्यवसाय नै लोप हुने खतरा बढेको हो ।
जलवायु परिवर्तनले हिमाली उच्च लेकमा चरन क्षेत्र साँघुरिँदै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेको र घाँसको खोजीमा हिमचितुवाको मुख्य आहार नाउर बस्ती तल झर्ने गरेको पाइएको छ । हिमालकी रानी हिमचितुवा आहारको खोजीमा नाउरलाई पछ्याउँदै बस्तीसम्म आइपुग्दा घरपालुवा पशुचौपाया क्षति हुने जोखिम बढेको हो । तर संरक्षिणविद्हरूले हिमचितुवा सडक र बस्तीमा झर्नुमा फरकफरक भनाइ राख्ने गरेका छन् ।
पछिल्लो दुई वर्षयता उपल्लो मुस्ताङमा हिमचितुवा सडक र बस्ती नजिक देखिन थालेका छन् । गत वर्ष मुस्ताङमा दुईवटा हिमचितुवा कागबेनी गाउँ नजिकै देखापरेको थियो । हिमचितुवा दिनदहाडै सडक र बस्तीमा देखिन थालेपछि स्थानीय पशुपालकले पालन गरेका घरपालुवा घोडा, खच्चड, याकचौँरी, भेडाच्याङ्ग्रालगायतमा क्षति हुने जोखिम बढेको हो ।
प्रतिक्रिया दिनुहोस्