काठमाडौँ, १८ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधि मैत्री बन्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भए पनि केही घटनामा परिणाम आउन नसकेकोले अपराध अनुसन्धानलाई परिमाणमुखी बनाउन प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।
उनले अनुसन्धान प्रक्रियालाई अझ परिष्कृत गर्दै नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । लुम्बिनी प्रदेशका छ जिल्लाहरू भारतसँग सिमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उल्लेख्य गर्दै उनले सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
लागू औषध ओसारपसार, साइबर अपराध, सीमा दुरुपयोग र अन्य नवीनतम सुरक्षा चुनौतीहरूको गम्भीर विश्लेषण आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्