समाचार

सामुदायिक वनमा दुई जना मृत फेला



काठमाडौँ, १८ फागुन । धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज बिहान आठ बजे धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा धनगढी– १० का अन्दाजी ३२ वर्षका देवल चौधरी रहेका छन् । उनी जामुनको रूखमा साइकलमा सामान बाँध्ने ट्युबले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

उक्त ठाउँबाट २० मिटर टाढा सोही ठाउँका अन्दाजी ३४ वर्षका कैदा राना भूमिमा पल्टेको अवस्था मृत फेला परेका छन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।