राजनीति

अध्यादेश अस्वीकार गर्छौं : प्रतिपक्षी दल



काठमाडौँ, २१ फागुन । प्रतिपक्षी दलहरूले सबै अध्यादेशको विपक्षमा उभिने तयारी गरेका छन् । प्रमुख प्रतिपक्ष दल माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश अस्वीकारका पक्षमा प्रतिनिधिसभा बैठकमा धारणा राख्ने तयारी रहेको बताए । ‘हामीले हरेक अध्यादेश अस्वीकार गर्ने कारणसहित सूचना दर्ता गराएका छौं । ती विषय सशक्त रूपमा राख्छौं,’ उनले भने ।

प्रमुख सचेतक पाण्डेले सहज ढंगमा विधेयक ल्याउन सक्ने अवस्था हुँदाहुँदै सरकारले अध्यादेश ल्याउनुको पछाडि गलत नियत रहेको बताए । ‘निहित स्वार्थ पूरा गर्न ढिलो गरी संसद्मा अध्यादेश प्रस्तुत गरिने भएको छ,’ उनले भने, ‘यसअघि पनि प्रतिनिधिसभामा एक पटक कार्यसूची राखेर हटाउनुको पछाडि सत्ता स्वार्थ जोडिएको छ ।’

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले अध्यादेश किन गलत छ भनेर जनताले थाहा पाउने गरी विरोध गर्ने बताए । प्रतिनिधिसभामा अस्वीकृत गरियोस् भनी सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेशमा भानुभक्त जोशी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेशमा स्वर्णिम वाग्ले, निजीकरणसम्बन्धी अध्यादेशमा माधव सापकोटा, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेशमा रणेन्द्र बराइली र सहकारीसम्बन्धी अध्यादेशमा चन्दा कार्कीले धारणा राख्ने भएका छन् ।