जनकपुर, २१ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुला सीमा नाकाहरूबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
आज मधेस प्रहरी कार्यालयका प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख कालीदास धौवजीलाई निर्देशन दिएका हुन् ।
विभिन्न नाकाबाट अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न दुवै निकायका प्रमुखलाई मुख्यमन्त्री सिंहले कडा निर्देशन दिएका हुन् ।
सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अन्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यावसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले बुधवार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्