राजनीति

जलविद्युत् आयोजना चाँडो निर्माण गरेर मुलुकले फाइदा लिनुपर्छ : मन्त्री खड्का



काठमाडौँ, २७ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजनाहरु चाँडो निर्माण गरी फाइदा लिनुपर्ने बताएका छन् ।

अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलमा लामो समय जलविद्युत् आयोजना नबन्दा राज्यले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै माथिल्लो अरुण, अरुण चौथोलगायतका आयोजनालाई समयमै सम्पन्न गरेर मुलुकले अत्यधिक फाइदा लिनुपर्ने खड्काले बताए । काम गर्ने सिलसिलामा समस्या आउने भन्दै यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

छलफलमा सहभागीले दुवै आयोजनाबाट मुलुकले कसरी अधिकतम फाइदा लिन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताए । यस सम्बन्धमा अध्ययन गरी निष्कर्षमा पुग्नका लागि एक प्राविधिक समिति गठन गरिने भएको छ ।