समाचार

सगरमाथा आरोहणको तयारी सुरु



सोलुखुम्बु, २९ फागुन । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र पारिएको छ ।

आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले जनाएको छ ।

एसपीसीसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताए । उनका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरतर्फअघि बढेको छ ।

टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईटा छुट्टा–छुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गरेका छन् । 

टोलीमा दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा रहेका छन् ।