दाङ, २९ फागुन । घोराही उपमहानगरपालिका–१४, नयाँ बजारस्थित शुभप्रभात माविमा विद्यालय व्यवस्थापन समिति गठनका विषयमा विवाद हुँदा झडप भएको छ ।
विद्यालय व्यवस्थापन समिति गठनका लागि बुधबार तेस्रोपटक बोलाइएको भेलामा विवाद भएपछि झडपको स्थिति सिर्जना भएको हो । गणपुरक संख्या नपुगेका कारण व्यवस्थापन समिति गठनको माइन्यूट गर्न नमान्दा प्रधानाध्यापक रुद्र बुढामाथि पनि कुटपिट भएको छ ।
पहिलो भेलामा १ सय २८ र दोस्रो भेलामा ४८ अभिभावक उपस्थित भए पनि गणपुरक संख्या १ सय ८६ नपुगेपछि बुधबार तेस्रोपटक भेला बोलाइएको थियो ।
कुटपिटमा १४ नं. वडा अध्यक्ष भानसीं बुढा र उनका सहयोगीहरु संलग्न रहेको बुढाले आरोप लगाएका छन् । वडा अध्यक्ष बुढाले भने आफू व्यवस्थापन समिति गठनको भेलामा निमन्त्रणा गरेका कारण गएको तर कुनै पनि अराजक गतिविधिमा संलग्न नभएको बताएका छन् । भेलामा अभिभावकहरुबीच विवाद भइ झडप भएको तर त्यसमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ छ । आफूलाई गलत आरोप लगाएर बदनाम गर्न खोजेको उनले बताए ।
व्यवस्थापन समिति गठनको विषयमा भएको विवाद झडपमा परिणत भएको तर अहिलेसम्म कसैले जाहेरी नदिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले बताए ।
प्रतिक्रिया दिनुहोस्