Banner News

ग्वार्को ओभरपासमा ‘एमएसई वाल’ को प्यानल झिकेर फेरि राखियो



काठमाडौँ, २ चैत । ग्वार्को ओभरपासको सातदोबाटोतर्फ राखिएको मेकानिकली स्टेबिलाइज्ड अर्थ (एमएसई) वालको प्यानल झिकिएको छ । ४० मिटर दूरीमा राखिएको वालको प्यानल झिकेर फेरि राख्न थालिएको छ । पहिला र्‍याम्पमा राखिएको प्यानलमा ग्याप देखिएपछि सुधार गरेर राखिएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले बताए । 

‘ओभरपासको सातदोबाटोतर्फ राखिएको प्यानलमा ग्याप देखिएको थियो,’ उनले भने, ‘अहिले ग्याप देखिएको खण्डमा मात्र निकालेर मिलाइएको हो ।’ र्‍याम्पका लागि राखिएको माटोमा समेत सुधार गरेर राखिएको उनले जनाए । ‘अहिले काम भइरहेको छ, पहिला देखिएका त्रुटि सुधार गरिएको छ,’ उनले भने, ‘वैशाखभित्र काम सक्ने निर्माण व्यवसायीको प्रतिबद्धता छ ।’

पटक–पटक म्याद थप्दा पनि ठेक्का लिने कम्पनीले काम नसकेपछि गत पुस १० बाट जरिवाना लगाएर काम गराइएको थियो । ठेक्का लगाउने निकायबाट काम गर्ने वातावरण नभएको भन्दै पुस १८ बाट निर्माण व्यवसायीले काम ठप्प पारेका थिए ।

२०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी ओभरपास निर्माणको काम थालिए पनि अहिलेसम्म सकिएको छैन । यसअघि पनि बर्खाले गर्दा भन्दै चार महिनासम्म काम रोकिएको थियो ।

यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको हो । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । उक्त समयभित्र नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो ।

आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो ओभरपास बन्नेछ । छेउछेउमा क्रंक्रिट प्यानल र विशेषखालको ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्‍याम्प बनाउने काम थालिए पनि पूरा भएको छैन ।

र्‍याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । ओभरपासमा अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो ।

यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए । ओभरपास निर्माणको काम समयमै नसकिँदा कोटेश्वर–कलंकी भएर ओहोरदोहोर गर्नेले दैनिक ट्राफिक जामको सास्ती खेप्न बाध्य छन् । कान्तिपुर