पाल्पा, २ चैत । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा उनले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको बताए । देश सङ्कटोन्मुख हुँदा सधैँ नेपाली कांग्रेसले अग्रपङ्तिमा रहेर काम गरेको उल्लेख गर्दै उनले सङ्कटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको बताए ।
फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट पारे । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्