राजनीति

अहिले लोडसेडिङ हुँदैन समस्या अप्रिलदेखि : प्राधिकरण



काठमाडौँ, ३ चैत । भारतले आइतबारदेखि नेपालमा विद्युत् आपूर्तिमा नियन्त्रण गरे पनि देशभित्र विद्युत् आपूर्ति व्यवस्थापनका लागि लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

भारतले मार्च १६ तारिखदेखि नेपालमा दिउँसोको समय (सोलार आवर) अर्थात् बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र इन्डियन इनर्जी एक्सचेन्जमार्फत विद्युत् उपलब्ध गराउने र अन्य समयमा विद्युत् दिन नसक्ने जनाएको छ । इनर्जी एक्सचेन्जबाट बोलकबोलको समयमा सीमितता आएपछि नेपालमा विद्युत् व्यवस्थापनका लागि राति लोडसेडिङ हुने आशङ्का रहेको छ तर नेपाल विद्युत् प्राधिकरणले भने विद्युत्को उचित र प्रभावकारी व्यवस्थापनमार्फत लोडसेडिङको अवस्था आउन नदिइने स्पष्ट पारेको छ ।

प्राधिकरणले हालको अवस्थामा विद्युत् व्यवस्थापन सहज भने पनि अप्रिल २०२५ (यहि चैत १९ गते) देखि भने प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा समस्या पर्ने देखिएको छ । आउँदो अप्रिलदेखि दुई देशीय सम्झौताका आधारमा भइरहेको विद्युत् आयातनिर्यात बन्द हुने छ । यसरी बन्द हुँदा १३२ केभीका कटैया–कुसाहा, रामनगर–बर्दघाट, रक्सौल परवानीपुर र मनैया–सम्पत्तीया–बुटवल प्रसारण लाइनबाट भइरहेको नियमित आयात बन्द हुने छ । यसबाट विराटनगर बारापर्सा औद्योगिक कोरिडोर, भैरहवा तथा बुटवल क्षेत्रका औद्योगिक कोरिडोर र गार्हस्थ उपभोक्तासमेतको विद्युत् आपूर्तिमा समस्या आउने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।