काठमाडौँ, ६ चैत । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक द्रुत प्रक्रिया (फास्ट ट्र्याक) मा अघि बढ्ने भएको छ ।
नागरिकता वितरणमा देखिएका व्यावहारिक समस्या सम्बोधनका लागि ल्याइएको विधेयक दफावार छलफलका लागि समितिमा नपठाई सदनकै पूर्ण बैठकबाट छलफल गराई पारितको तयारी सरकारले गरेको हो ।
प्रतिनिधि सभाले बुधबार विधेयक पारितको सम्भावित कार्यसूचीमा राखेको छ तर गृह मन्त्रालयले विधेयकको संशोधनकर्ता सदस्यसँग छलफल गरेर मात्र अघि बढाउन चाहेको जानकारी संसद्लाई पठाएसँगै बुधबार नै पारित हुने वा नहुने भने निश्चित छैन ।
नागरिकता वितरणका व्यावहारिक समस्या सुल्झाउन विभिन्न मुद्दामा सर्वोच्च र उच्च अदालतले गरेको आदेश कार्यान्वयनका लागि सरकारले विधेयक अघि बढाएको हो । नागरिकता वितरणका कानुनी जटिलता हटाउन भन्दै सरकारले प्रतिनिधि सभामा माघ १५ गते विधेयक दर्ता गरेको थियो । विधेयकमा ३५ संशोधन दर्ता भएका छन् ।
प्रस्तावित विधेयकले वैदेशिक रोजगारमा जाँदा विदेशमै बच्चा जन्माएका व्यक्तिका सन्तानले नागरिकता पाउने बाटो खोलेको छ । वैदेशिक रोजगारमा गएका बेला विदेशमै सन्तान जन्माएर फर्किएका महिलाका सन्तानलाई बुवा पहिचान नभएको अवस्थामा नेपाली नागरिकता दिने प्रस्ताव विधेयकमा छ । जन्मदर्ता तथा शैक्षिक प्रमाणपत्रमा बुवाको नाम भएका तर अन्य पहिचान नखुलेको तथा बुवा सम्पर्कमा नरहेका व्यक्तिलाई आमाको नामबाट नागरिकता दिने प्रस्ताव विधेयकले गरेको छ । अदालतहरूले विभिन्न समयमा यस्ता व्यक्तिका सन्तानलाई नागरिकता दिन आदेश गरेको थियो ।
यस्तै विधेयकले बुवा वा आमामध्ये एकले जन्मका आधारमा नागरिकता लिएको तर अर्कोले नागरिकता नलिँदै मुत्यु भएको अवस्थामा निजहरूका सन्तानलाई पनि नागरिकता दिने प्रस्ताव गरेको छ ।
यस्तै सरकारले नाबालक परिचयपत्र जारीको पनि प्रस्ताव विधेयकमा गरेको छ । १६ वर्ष उमेर पूरा नभएको र बुवा वा आमामध्ये एक नेपाली नागरिक रहेको नाबालकलाई यस्तो परिचयपत्र जारी गर्ने प्रस्ताव विधेयकमा छ ।
प्रतिक्रिया दिनुहोस्