राजनीति

क्रियाशील वितरणमा सबैले जिम्मेवारी पूरा गर्दा समयमै महाधिवेशन हुन्छ : महामन्त्री थापा



काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरणमा हरेकले आफ्नो जिम्मेवारी पूरा गर्दा समयमै सहजै महाधिवेशन सम्पन्न गर्न सकिने बताएका छन् ।

मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकमा सदस्यता वितरणका विषयहरूमा गहन विमर्श र छलफल भएको महामन्त्री थापाले बताए । महामन्त्री थापा संयोजकत्वको उक्त समितिमा केन्द्रीय सदस्यद्वय सीता गुरुङ र प्रकाश रसाइली सदस्य छन् । १४औँ महाधिवेशनताका करिब एक वर्ष सदस्यता छानविनका कारण महाधिवेशन हुन सकेको थिएन । महामन्त्री थापाले यसपटक सदस्यता वितरणलाई पारदर्शी बनाइने र विवाद नहुने दाबी गर्दै आएका छन् ।

बैठकपछि महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘आज क्रियाशील सदस्यता वितरण सम्बन्धी विषयमा गहन विमर्श र छलफल भयो  । क्रियाशील सदस्यता वितरणमा प्रत्येकले आफ्नो जिम्मेवारी पूरा गर्दा, हामी सहजै र समयमै नेपाली कांग्रेसको अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सक्नेछौँ ।’

कांग्रेसको १४ औँ महाधिवेशन ०७८ मंसिरमा भएको थियो । यसआधारमा आगामी ०८२ मंसिरमा यो केन्द्रीय समितिको चार वर्षे कार्यकाल पूरा हुन्छ । सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूको बैठक बोलाएरै ०८४ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने गरी तयारी गर्नुपर्ने प्रस्ताव गरेपछि महाधिवेशन कहिले भन्ने विषय थप पेचिलो बनेको छ ।

यस्तोमा महामन्त्री थापाले भने समयमै महाधिवेशन हुने र त्यसका लागि क्रियाशील सदस्यता वितरणमा सबैले जिम्मेवारी पूरा गरेर वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राखेका हुन् । थापा संयोजकत्वको व्यवस्थापन समितिले चैत मसान्तभित्र जिल्लाबाट क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर केन्द्रीय समितिमा पठाउने कार्यतालिका जिल्लालाई पठाइसकेको छ ।