हेटौंडा, ९ चैत । भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ । नेपाल विद्युत् प्राधिकरणको ब्याकअपका रूपमा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनामा केही दिनदेखि २४ घण्टामा पानीको सतह सरदर ३६ सेन्टिमिटर घट्न थालेको हो ।
कुलेखानी जलाशयमा बिहीबार दिउँसो २ बजे एक हजार ५ सय २३ मिटर ८२ सेन्टिमिटर पानीको सतह थियो । शुक्रबार दिउँसो सोही समयमा एक हजार ५ सय २३ मिटर ४६ सेन्टिमिटरमा झरेको छ । भारतबाट दिनको १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानीका तीन वटै जलविद्युत् आयोजना चौबीसै घण्टा सञ्चालन गरिएको कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले बताए ।
‘अहिले चौबीसै घण्टा कुलेखानीका तीन वटै आयोजना सञ्चालनमा छन्,’ भट्टले भने, ‘कुलेखानी जलाशयको पानीको सतह दिनहुँ ३५ देखि ४० सेन्टिमिटरसम्म घट्न थालेको छ ।’ बुधबार र बिहीबार चौबीसै घण्टा कुलेखानी आयोजना सञ्चालन गरिएको छ । यस वर्षको बर्खायाममा कुलेखानी जलाशय ओभरफ्लो भएर ड्यामका ढोका खोलिएको थियो । एक हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता भएको कुलेखानी जलाशय गत असोज १० मा पूर्ण रूपमा भरिएको थियो ।
ओभरफ्लो भएकै कारण असोज ११ मा ड्यामको ढोका खोलिएको थियो । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयका जलाधार क्षेत्र हुन् । ती क्षेत्रमा गत बर्खायाममा भारी वर्षा भएको थियो, जसका कारण कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो ।
सुक्खायाम सुरु भएपछि कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन गरिएको थियो । हालसम्म जलाशयको पानीको सतह ६ मिटर १८ सेन्टिमिटर घटिसकेको छ । कुलेखानी जलाशयमा एक हजार ४ सय ८३ मिटर पानीको सतह अन्तिम बिन्दु हो । पानीको सतह एक हजार ४ सय ८३ मिटरमा पुगेपछि विद्युत् उत्पादन गर्न सकिन्न । गत वर्षको सुक्खायाममा जलाशयको पानी झन्डै अन्तिम बिन्दुसम्म उपयोग गरिएको थियो । कुलेखानी जलाशयको पानी एक हजार ४ सय ८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ । जलाशयमा संकलित पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ ।
कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ । कुलेखानी जलाशयमा संकलित पानीबाट तीन वटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । ३ सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशय नेपालका ठूला योजनामध्ये एक जलविद्युत् उत्पादन गृह हो । सुक्खायाममा सञ्चालन गर्न कुलेखानी जलाशयमा पानी संकलन गरेर राखिएको भट्टले बताए ।
इन्द्रसरोवरको पिँधको सतह बढ्यो
कुलेखानी जलविद्युत् आयोजनाको जलाशयको पिँधको सतह बढेकाले ६ करोड ३३ लाख युनिट विद्युत् उत्पादनमा कमी आएको छ । सुरुमा जलाशयमा संकलित पानीबाट २१ करोड ११ लाख युनिट विद्युत् उत्पादन हुने गर्थ्यो । तर अहिले त्यो क्षमतामा ह्रास आएर १४ करोड ४७ लाख युनिट मात्र विद्युत् उत्पादन हुन्छ । जलाशयको पानी संकलन क्षमतामै ह्रास आएकाले विद्युत् उत्पादनमा कमी आएको हो । यसले उत्पादन स्वतः प्रभावित हुन्छ । करिब २७ मिलियन क्युसेक पानी अट्ने क्षमतामा ह्रास आएको कुलेखानी प्रथमका एक प्राविधिकले बताए ।
बर्सेनि जलाधार क्षेत्रबाट खोलाले बगाएर ल्याउने ढुंगा, माटो, बालुवा र पातपतिंगर जलाशयमा थुपार्ने गरिएकाले सरोवरको सतह बढेपछि पानी अट्ने क्षमता साँघुरिँदै गएको हो । सुरुमा कुलेखानी जलाशयमा ८५ दशमलव ३ मिलियन क्युसेक पानी अट्थ्यो । त्यो क्षमतामा ह्रास आएर अहिले ५९ दशमलव ९९ मिलियन क्युसेकमा झरेको छ । कुलेखानी सञ्चालनमा आएको ४१ वर्षमा १३ मिटरभन्दा बढी जलाशयको पिँधको सतह वृद्धि भएको बताइएको छ ।
सरोवरको सतह बढेकाले जलाशयको पानी संकलन गर्ने क्षमतामा ३० प्रतिशत गिरावट आएको हो । विद्युत् उत्पादनमा पनि ३० प्रतिशतले ह्रास आएको छ । जलाशयको पानी क्षमतामा ह्रास आएपछि सुरुको अवस्थाको तुलनामा विद्युत् प्राधिकरणले वार्षिक करिब ३५ करोड रुपैयाँ नोक्सानी बेहोर्दै आएको छ ।
२०३९ सालमा कुलेखानी जलविद्युत् आयोजना प्रथम सञ्चालनमा आउँदा जलाशयमा संकलित पानीमध्ये ५७ मिटर पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्थ्यो । २०५० सालको बाढीपछि जलाशयमा संकलितमध्ये ५० मिटर मात्र पानी विद्युत् उत्पादन गर्न सकिन्थ्यो । अहिले ४६ मिटर मात्र पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ । जलाशयमा ‘डेब्रिज’ हरू यसरी थुपि्रँदै गएपछि विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिने पानीको सतह घट्दै गएको छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्