राजनीति

औद्योगिक क्षेत्रको लोडसेडिङ हटाइयो : प्राधिकरण



काठमाडौँ, १५ चैत ।  नेपाल विद्युत् प्राधिकरणले लोड व्यवस्थापन गरी औद्योगिक क्षेत्रको लोडसेडिङ हटाइएको जनाएको छ ।

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विगतमा १२ घण्टासम्म उद्योगहरुमा लोडसेडिङ हुँदै आएकोमा अहिले पूर्णरुपमा औद्योगिक लोडसेडिङ हटाइएको बताए । उनका अनुसार औद्योगिक क्षेत्रका औद्योगिकहरुलाई सूचना पठाएर चौबिसै घण्टा विद्युत् आपूर्ति गर्ने जानकारी गराउँदै बेलुका पाँच बजेदेखि राति साढे १० बजेसम्म (पिक आवर)मा भने ‘लाइट लोड’मा मेसिन चलाउन भनिएको छ ।

भारतले दिउँसो मात्रै विद्युत् दिन थालेपछि पूर्वक्षेत्रका औद्योगिक ग्रिडमा १२ घण्टासम्म अघोषित लोडसेडिङ हुँदै आएको थियो, जसले गर्दा उत्पादन ७० प्रतिशतसम्म कटौती गर्नु परेको निजी क्षेत्रको दाबी छ ।

भारतले राति बिजुली दिएको बेला अर्धजलासययुक्त आयोजनाहरुको जलासय भरेर पिकआवरमा चलाउने गरी लोड व्यवस्थापन गरिएको प्राधिकरणको भनाइ छ ।