काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा चैत १५ गते भएको घटनामा जो सुकै संलग्न भएको भएपनि कडा प्रशासनिक कारबाही हुने बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जो सुकै भए पनि कडा कारबाही गर्ने बताएका हुन् ।
कार्यक्रमका कथित जनकमाण्डरले प्रहरीमाथि गाडी चलाएको बताए ।
ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह एक वर्षदेखि सामाजिक सद्भाव भड्काएर समाज बिथोल्ने प्रयासमा मिसिँदा तीनकुने घटना भएको बताए ।
उनले पूर्वराजाले आफ्नो महत्त्वाकांक्षाका निम्ति समाज भड्काउने, बैंकको ऋण तिर्दिनँ भन्ने व्यक्तिको साथ लिएको आरोप लगाए । तीनकुने घटना त्यसकै प्रतिफल भएको उनको भनाइ थियो ।
उनले भने, “कथित आयोजकले प्रहरीमाथि गाडी गुडाउने प्रयास गर्दै निषेधित क्षेत्र तोडे । अन्तर्राष्ट्रिय विमानस्थल र आयल निगमको डिपोमा आगजनी गर्ने आतंकवादी गतिविधि भए,” “व्यक्तिको घरमा आगो लगाउने, सपिङ मलमा छिरेर लुटपाट मच्चाउने, जडीबुटी कम्पनीमा आगजनी गर्ने गतिविधि राजनीतिक हुन सक्दैनन् ।”
हालको घटनाका निम्ति एक वर्षअघिदेखिको विश्लेषण आवश्यक रहेको उनले बताए । “एक वर्षअघिदेखिको विश्लेषण आवश्यक छ । धर्म–संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा उत्तेजना फैलाएर जनआस्था भड्काउने प्रयास गर्दै थियो,” प्रधानमन्त्री ओलीले भने, “पूर्वराजाले त्यही अवाञ्छित व्यक्तिलाई घरमा बोलाएर कथित कमान्डर तोक्ने काम भयो ।”
प्रतिक्रिया दिनुहोस्