काठमाडौँ, १९ चैत । संघीय संसद्का दुवै सदनबाट पारित ५ विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।
अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका ती विधेयकलाई सोमबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । सरकारले अध्यादेशमार्फत दर्जनौं कानुन संशोधन गरेको थियो ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएका हुन् ।
सरकारले ६ वटा अध्यादेश संसद् अधिवेशन सुरु हुनु केही पहिले मात्रै ल्याएको थियो । जसमध्ये भूमिसम्बन्धी अध्यादेश संसद्मा स्वीकार गरियोस् भन्ने प्रस्ताव नै राखिएको थिएन । राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालले उक्त अध्यादेश अगाडि बढाए अन्य अध्यादेश पनि स्वीकार नगर्ने अडान लिएपछि भूमि अध्यादेशबाहेकका ५ अध्यादेश मात्रै सरकारले अगाडि बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस्