राजनीति

प्रधानमन्त्री ओली आज बैंकक जाँदै



काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्यान्ड जाँदैछन् ।

थाइल्यान्डको राजधानी बैंककमा हुने बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास) को छैटौं शिखर सम्मेलनमा नेपालको सहभागिता जनाउन प्रधानमन्त्री ओली दिउँसो १ बजे त्यसतर्फ जाने भएका हुन् ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा थाई प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुने र पर्यटन तथा संस्कृतिका सन्दर्भमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। साथै दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्र बीचको ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने प्रधानमन्त्रीले सोमबार संसद्मा जानकारी गराएका छन् ।

द्विपक्षीय वार्तापछि थाई समकक्षीसँगै संयुक्त प्रेस ब्रिफिङमा भाग लिने र थाई राजासँग भेटवार्तापछि थाइल्यान्डको एकदिने औपचारिक भ्रमण समाप्त हुने छ ।

नेपाल–थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षको इतिहासमा नेपाली प्रधानमन्त्रीको स्तरबाट थाइल्यान्ड भ्रमण हुन लागेको हो । प्रधानमन्त्री ओलीका अनुसार २१ चैत्रमा उनले थाइल्यान्डका प्रतिष्ठित व्यापारीहरूसँग भेटघाट–छलफल र दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने तालिका छ ।

प्रधानमन्त्री ओली २१ चैत्र दिउँसो हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी भएर नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि बिहान ‘मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन अग्रिमेन्ट’ मा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछन् । २१ चैत्र साँझ नेपाली दूतावासमा आयोजना गरिएको रिसेप्सन (रात्रिभोज) मा सहभागी भएसँगै प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण समाप्त हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा बैंकक जाने नेपाली प्रतिनिधिमण्डल २५ सदस्यीय मात्र हुने भएको छ ।