भैरहवा, २० चैत । लुम्बिनीका ६ जिल्लाका सबै घरमा विद्युत् सेवा उपलब्ध गराएर आउँदो जेठ १५ भित्र ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणा गर्ने तयारी गरिएको छ ।
कावासोतीदेखि पश्चिमतर्फको नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका सबै घरमा विद्युतीकरण गरेर ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणाको तयारी गरिएको हो । बिजुली नपुगेका घरमा धमाधम विद्युतीकरणको काम जारी राखिएको र प्रत्येक घरमा पुगेपछि पूर्ण विद्युतीकरण क्षेत्र घोषणा गरिने नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलले बताएको छ ।
यी जिल्लामा घरेलु विद्युत् ग्राहकको संख्या ५ लाख २९ हजार छ । ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणाका लागि यी क्षेत्रमा बिजुली नपुगेको घर संख्या करिब ५ सय भएको अनुमान प्राधिकरणको छ । यसअन्तर्गत, हाल अर्घाखाँचीको शीतगंगा नगरपालिका–११ र ९, नवलपरासीको बर्दघाट, बुटवल र कपिलवस्तुका केही बस्तीका घरमा विद्युत् पुर्याउने काम भइरहेको छ । प्राधिकरणको अर्घाखाँची, गुल्मी, पाल्पा, बुटवल, भैरहवा, नयाँमिल, अमुवा, तोलिहवा, कृष्णनगर, बर्दघाट र परासी वितरण केन्द्रले विद्युत् नपुगेका घरको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्