काठमाडौँ, २१ चैत । नेपाल र थाइल्यान्ड सरकारबीच सांस्कृतिक र पर्यटन सहयोगसम्बन्धी अलगअलग दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसबाहेक गैरसरकारी पक्षबीच विभिन्न ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा बुधबार सरकारी र गैरसरकारी गरेर दुई पक्षबीच कुल ८ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पाइतोङ तार्न सिनावात्राबीच द्विपक्षीय भेटवार्ता भएको छ । बिमस्टेक शिखर सम्मेलनमा भाग लिनुपूर्व प्रधानमन्त्री ओलीले थाइल्यान्ड सरकारको निमन्त्रणामा औपचारिक भ्रमण गरेका हुन् ।
त्यस्तै, थाइल्यान्डका नरेश बजिरालोङर्नसँग पनि प्रधानमन्त्री ओलीले शिष्टाचार भेटवार्ता गरेका छन् । बैंककस्थित एम्फोर्न राजदरबारमा नरेशसँग भेट भएको हो । दुई देशबीच पर्यटन, संस्कृति, आर्थिक, व्यापार र उड्डयनलगायतका बहुपक्षीय मुद्दामा सहकार्यका विषयमा प्रधानमन्त्री तहमा कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्ण ढकालले जानकारी दिए ।
सिनावात्रासँगको भेटपछि बैंककमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका क्रममा संस्कृति, पर्यटन, शिक्षा, ऊर्जासहितका क्षेत्रमा सहकार्य बढ्ने विश्वास व्यक्त गरे । थाइल्यान्डसँगको ६५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध रहे पनि नेपालका तर्फबाट पहिलो औपचारिक भ्रमण आफूले गर्न पाएकामा सम्मानित महसुस गरेको उनको भनाइ थियो ।
त्यसबाहेक गैरसरकारी क्षेत्रमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, काठमाडौं विश्वविद्यालय, नेपाल नेत्र ज्योति संघले थाइल्यान्डका विभिन्न गैरसरकारी क्षेत्रसँग अलगअलग सम्झौता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्