झापा, २५ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्त्वाकांक्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी रहेको धारणा राखे ।
“एकतर्फी कसैलाई दोष देखाएर सरकार पनि उम्किन मिल्दैन । घटनामा तीनैवटा पक्ष दोषी छन् । त्यसको छानबिन हुनुपर्छ । वामपन्थी एकताको विकल्प छैन । टाउको जोड्ने र अंकमाल गर्नेमा एकतालाई सीमित गरिनु हुँदैन । अब हुने एकता नीति, सिद्धान्त र कार्यदिशा निर्धारण गरेर हुनुपर्छ ।”
प्रतिक्रिया दिनुहोस्