राजनीति

जनमत–नागरिक उन्मुक्तिको एकता सहमति



धनगढी, २५ चैत । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि पार्टीको नाम नागरिक जनमत र चुनाव चिह्न ढकिया राख्ने सहमति भएको छ ।

आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो । केही दिनपछि कार्यसमितिको बैठक बसेर एकता प्रक्रिया टुंग्याइने भएको छ ।

कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खानले पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने जानकारी दिए । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने सहमति भएको छ । क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ । मस्यौदा समितिले चितवनदेखि पश्चिमसम्म चौधरीलाई जिम्मेवारी दिएको छ । वैशाख दोस्रो साताभित्र पार्टी एकीकरणको विषय टुंगो लगाई वैशाख १५ मा घोषणा गरिने जनमतका उपाध्यक्ष खानले बताए ।