काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने भएको छ ।
देउवानिवास बुढानीलकण्ठमा भएको छलफलले महाधिवेशन गर्न नसक्नुको कारण र हालसम्म गरेका कार्यको विवरण माग्ने निर्णय पनि गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको छलफलले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने निर्णय गरेको हो ।
हालसम्मको कार्य प्रगतिबारे भ्रातृ संस्थाको महाधिवेशन गराउन पार्टीबाट गठन भएको निर्देशक समिति र सम्बन्धित संस्थाको अध्यक्षले लिखित जवाफ पठाउनुपर्ने छ । लामो समयदेखि महाधिवेशन गर्न नसकेका भ्रतृ संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने तयारीमा कांग्रेस छ ।
कांग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।
प्रमुख भ्रातृ संस्थाका रुपमा परिचित नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् ।
प्रतिक्रिया दिनुहोस्