काठमाडौँ, ४ वैशाख । अमेरिका र चीनबीचको आरोप–प्रत्यारोप बढेसँगै व्यापार युद्ध थप चर्किने देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै वार्ता गर्ने–नगर्ने चीनको हातमा रहेको बताएका छन् ।
‘बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,’ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा उल्लेख छ, ‘चीन र अन्य कुनै पनि देशबीच कुनै भिन्नता छैन, फरक यत्ति हो भूगोलका हिसाबले कुनै ठूला र कुनै साना छन् ।’
ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठूलो सम्झौताबाट चीन पछाडि हटेको बताएसँगै नयाँ चेतावनी आएको हो । ब्लुमबर्गको एक समाचार रिपोर्टअनुसार बेइजिङले एयरलाइन्सहरूलाई बोइङ कम्पनीका विमान नलिन आदेश दिइसकेको छ ।
ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका लिन जियानले अमेरिका वार्तामार्फत समस्या समाधानका लागि गम्भीर नभएको दाबी गरेका छन् ।
‘यदि अमेरिका वास्तवमै संवाद र वार्ताका माध्यमबाट समस्या समाधान गर्न चाहन्छ भने उसले चेतावनी र ब्ल्याकमेलिङजस्ता अत्यधिक दबाबको नीति रोक्नुपर्छ र समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्छ,’ लिन जियानले भने । तर उनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेका छन् ।
त्यस्तै, बुधबारको पत्रकार सम्मेलनमा बोल्दै, राष्ट्रिय तथ्यांक ब्युरो (एनबीएस) का उपआयुक्त सेङ लाइयुनले अमेरिकी करले चीनको वैदेशिक व्यापार र अर्थतन्त्रमा दबाब दिने बताए । चीनको अर्थतन्त्र लचिलो भएको र दीर्घकालीन रूपमा सुधार हुनुपर्ने उनको भनाइ छ । ‘हामी आयात शुल्क र व्यापार धम्की दिने अमेरिकी अभ्यासको दृढतापूर्वक विरोध गर्छौं,’ सेङले भने ।
अमेरिकी निर्णयले विश्व व्यापार संगठनको आर्थिक कानुन र सिद्धान्तको उल्लंघन गरेको उनको भनाइ छ । ‘यसले विश्व आर्थिक व्यवस्थामा गम्भीर प्रभाव पार्छ र विश्व अर्थतन्त्रको पुनःप्राप्तिलाई कमजोर बनाउँछ,’ उनले भने ।
यसै साताको सुरुमा चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीको सम्पादकीयमा अमेरिकी व्यवहारलाई ‘मनमौजी र विनाशकारी’ भनेको छ । सम्पादकीयमा विश्वव्यापी व्यापारमा आफू पीडित भएकोमा गुनासो गर्न बन्द गर्नुपर्ने उल्लेख छ । ‘अमेरिका कसैबाट ठगिएको छैन । बरु यो विश्वव्यापीकरणको रेलमा स्वतन्त्र सवारी गरिरहेको छ,’ सम्पादकीयमा भनिएको छ ।
ट्रम्पले सुरुमा फेन्टानिल आपूर्ति शृंखलामा चीनको भूमिका रहेको दाबी गर्दै चीनबाट आयात हुने सामानमा कर लगाएका थिए । त्यसयता दुवै देश व्यापार युद्धमा होमिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने धेरैजसो सामानमा थप १४५ प्रतिशत आयात कर लगाइसकेका छन् । बेइजिङले पनि अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।
तर ट्रम्प प्रशासनले स्मार्टफोन र ल्यापटपजस्ता केही प्राविधिक उत्पादनहरूमा पछिल्लो कर वृद्धिबाट अस्थायी छुट दिएको छ । तर मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले बल चीनको कोर्टमा रहेको बताएका छन् । त्यसको प्रतिक्रियामा लिनले भनेका छन्, ‘यो कर युद्ध अमेरिकाले नै सुरु गरेको हो र चीनको अडान स्पष्ट छ कि कर युद्ध वा व्यापार युद्धमा कोही पनि विजेता हुँदैन । यसको मतलब, चीन युद्ध गर्न चाहँदैन । तर, परेको खण्डमा यसको सामना गर्न डराउँदैन ।’ कान्तिपुर
प्रतिक्रिया दिनुहोस्