काठमाडौँ, ४ वैशाख । अमेरिकाबाट डिपोर्ट भई भुटानबाट पुनः लखेटिएर नेपाल प्रवेश गरेका चार भुटानी शरणार्थीलाई ‘तत्काल देश निकाला नगर्न’ सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनीहरूलाई वैशाख ११ गते अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ । थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीको तर्फबाट नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उनीहरूलाई तत्काल निष्कासन नगर्न भनेको हो । चारै जना नेपाली मूलका भुटानी नागरिक हुन् । पछि संयुक्त राष्ट्रसंघीय पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुनर्वास गरिएका उनीहरूलाई अमेरिका सरकारले गएको चैत ११ गते डिपोर्ट गरेको थियो । उनीहरुलाई आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा डिपोर्ट गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्