राजनीति

प्रमुख निर्वाचन आयुक्त पद रिक्त



काठमाडौँ, ६ वैशाख । प्रमुख आयुक्त दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल पूरा गरी शुक्रबार बिदा भएसँगै निर्वाचन आयोग नेतृत्वविहीन बनेको छ ।

निर्वाचन आयुक्तको एक पद पनि दुई वर्षदेखि रिक्त छ । थपलियाको पदावधि सकिएसँगै संवैधानिक आयोगहरूमा रिक्त पदसंख्या १३ पुगेको छ । निर्वाचनमा आयोगमा अहिले रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा आयुक्त छन् । भण्डारी र तुलाधर २०७७ र जबरा २०७८ मा प्रतिनिधिसभा विघटन भएको बेला संसदीय सुनुवाइबिना आयुक्तमा नियुक्त भएका थिए ।

२०७६ मा थपलियासँगै समावेशी आयोगको सदस्यमा नियुक्ति पाएकी विष्णुमाया ओझाको पनि पदावधि सकिएको छ । अब विभिन्न संवैधानिक निकायमा ६ अध्यक्षसहित १३ पद रिक्त भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मधेशी आयोगका विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी गत महिना कार्यकाल पूरा गरी बिदा भएपछि नयाँ नियुक्ति भएको छैन । त्यसअघि नै राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र दुई सदस्य पद रिक्त थियो । महिला आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगमा एक/एक सदस्य पहिल्यैदेखि खाली छ ।