विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको देखिएको बताएका छन् ।
आइतबार हाम्रो मत दैनिक विराटनगरको २२ औं वार्षिकोत्सव अवसरमा उनले गणतन्त्रवादीले आत्मसमीक्षा गर्ने बेला आएको भन्दै त्यसो नगर्ने हो भने भावनाले मात्रै गन्तव्यमा नपुगिने पटकपटक पुष्टि भएको बताए । पार्टीहरु अलिअलि रोगी भएकै कारण उपचार आवश्यक रहेको पनि उनले स्वीकार गरे । दाहालले संविधानको गम्भीर समीक्षा आवश्यक गरेको बताए । एमाले-कांग्रेसले गठबन्धन गर्दैगर्दा संविधान संशोधनको कुरा उठाए पनि अहिले त्यो हराएको उनको भनाइ थियो ।
उनले भने, ‘मिल्न त खोजियो, मिलेर जान बल गरेकै हो । सुशासन, न्याय र आर्थिक विकासको एजेन्डा समेटेर अघि जान खोज्या हो । तर फेरि पनि ‘समथिङ रङ’ छ भन्ने देखियो । गणतन्त्रविरुद्ध भइरहेका विरोधका स्वरप्रति लक्षित गर्दै दाहालले कुन आन्दोलन हो, कुन अपराध हो कुरा जनताले छुट्याउनुपर्ने बताए ‘तानाशाहीतिर फर्किन गरिएको कुरा आन्दोलन होइन, लोकतन्त्रविरुद्ध गरिएको चालबाजी मात्रै हो । के आन्दोलन हो, के होइन, कम्तीमा जनताले बुझ्नुपर्यो ।’
प्रतिक्रिया दिनुहोस्