राजनीति

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग



काठमाडौँ, ७ वैशाख । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ ।

त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न पनि आयोगले भनेको छ । उक्त कार्यक्रम बमोजिम गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भैसकेको छ । मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेवसाइट www.election.gov.np मा प्रकाशन समेत भएकामा अद्यावधिक कार्य सम्पन्न भएपछि वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुने छ ।

आयोगका अनुसार, मतदाता नामावली अद्यावधिक प्रयोजनका लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए दिन सकिने छ । त्यसैगरी एकभन्दा बढी स्थानमा नाम समावेश भएमा हटाउन तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेकाको नाम मतदाता नामावलीबाट हटाउन यही वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।