काठमाडौँ, ८ वैशाख । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक सोमबार बस्दैछ ।
आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सुरु भएको बैठक करिब दुई घण्टा बसेर निर्णय नगरी टुंगिएको थियो । आइतबार न्यायाधीश नियुक्ति गर्ने गरी छलफल भएकोमा सहमति जुट्न नसकेको हो । यसअघि गत बिहीबार न्यायाधीश नियुक्तिका सम्बन्धमा बैठक बसेकोमा उक्त दिन पनि सहमति जुट्न सकेको थिएन ।
हाल देशभर जिल्ला, उच्च र सर्वोच्च गरी अदालतहरूमा ३३ न्यायाधीश रिक्त छन् । बारमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशले सक्रियता बढाएका हुन् । हाल प्रधानन्यायाधीश राउत नेतृत्वको परिषद्मा सदस्यहरू वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, कानुनमन्त्री अजयकुमार चौरासिया र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का र सदस्य सचिवका रूपमा यमबहादुर बुढामगर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्