समाचार

कालिकोटमा ट्र्याक्टर दुर्घटना: ४ जनाको मृत्यु



कालिकोट, ८ वैशाख । कालिकोटकाे पलाँता गाउँपालिका-२ लार्फमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ ।

आइतबार राति  पलाँता गाउँपालिका-९ थिर्पुबाट खुद्रा तथा खाद्यान्न बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर राडुनेटा लार्फ भन्ने ठाउँमा राति ११:३० मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी चालकसहित चार जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख टेक बहादुर रावतले जानकारी दिए । दुर्घटनामा मुगु खत्याड-५ घर भएका २५ वर्षीय चालक चन्द्र प्रकाश रोकाया, पलाँता-५ का २६ वर्षीय अम्बा शाही, पलाँता-४ का २१ वर्षीय सदु बुढा, पलाँता ४ का २१ वर्षीय रबिन्द्र बिकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ट्र्याक्टरको इन्जिन सडकबाट २ सय मिटर तल खसेको छ भने ट्रली ६०० मिटर तल खोचमा खसेको छ।