काठमाडौँ, ९ वैशाख । भक्तपुरको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोर्ने तीन जना चोरलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दुई वटा स्कुटर सहित तीन जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा सुनसरीको धरान घर भई भक्तपुरको ठिमी बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १ घर भई भक्तपुरको बोडे बस्ने २६ वर्षीय दावा शेर्पा र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ बस्ने २७ वर्षीय रोजन थापा रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२ ०३७ प २४०७ रहेको स्कुटर नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२ ०४० प ०५२४ नम्बर राखी काठमाडौँको कागेश्वरी नगरपालिका ७ मा चलाई रहेको अवस्थामा साजनलाई ट्राफिक प्रहरीले फेला पारेको थियो । सो स्कुटर सलिना कार्कीको रहेको खुल्न आएको छ ।
दावालाई सोधपुछ गर्दा उक्त स्कुटर रोजनबाट लिएको बताएपछि रोजनलाई समेत भक्तपुरको मध्यपुर ठिमीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
रोजनलाई समेत सोधपुछ गर्दा सो स्कुटर भक्तपुरको नलिनचोकका २७ बर्षीय सुजन गुरुङले दिएको भन्ने खुल्न आएपश्चात् खोजी गर्ने क्रममा उनी बस्दै आएको ठाउँमा बा ६६ प ८७८५ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको थियो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक छानबिन तथा कारबाहीका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्