Banner News

जलवायु परिवर्तनका कारण प्राकृतिक प्रणालीको अस्तित्व सङ्कटमा: मन्त्री राई



सोलुखुम्बु, १० वैशाख । रक्षामन्त्री मानवीर राईले मानवीय क्रियाकलापका कारण सृजित जलवायु परिवर्तनका कारण जीवजन्तु र प्राकृतिक प्रणाली अस्तित्वको सङ्कटमा परेको बताएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामेमा मंगलबार आयोजित आरोही सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर विश्वभर तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यो समस्या नेपालका लागि मात्रै नभइ विश्वको भएको बताए । मन्त्री राईले प्राकृतिक सन्तुलनको विघटनको प्रमुख कारण मानवीय गतिविधि रहेको उल्लेख गर्दै वातावरणीय विनाशको मुख्य जिम्मेवारी सम्पन्न राष्ट्रहरूले लिनुपर्ने बताए ।

“विकसित मुलुकहरूको उत्पादन र प्रविधि आधारित जीवनशैलीले पृथ्वीको तापक्रम बढाएको छ । यसको असर खासगरी जल, जमिन, हिउँ र हावामा स्पष्ट देखिएको छ”, उनले भने ।