राजनीति

नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन बन्ने



काठमाडौँ, १० वैशाख । नेपाल र भारतबिच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि हस्ताक्षर भएको छ ।

मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको  पावर ग्रिड कम्पनी लिमिटेडबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा दुईदिने भ्रमणका लागि खट्टरसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउनुभएको छ । सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रिड लिमिटेड भारतका निर्देशक डा. यतिन्द्र द्विवेदीले संयुक्त हस्ताक्षर गर्नुभयो । 

गत माघ ३० गते भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । बाँकी ४९ प्रतिशत अर्को देशको रहने छ । 

इनरुवा–न्यु पूर्णियाको लम्बाइ नेपालतर्फ करिब २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर छ भने दोदोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ ।