काठमाडौँ, १२ वैशाख । हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ ।
साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भई रहेको छ ।
आज दिउसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यी तीन प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आज राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको छ ।
मधेस प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको छ । लुम्बिनी प्रदेशका तराईका भू-भागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्