काठमाडौँ, १३ वैशाख । मुलुकमा आयात हुने ७५ देखि ८० प्रतिशत डिजेल पाइप लाइनबाट भित्रिने गरेको छ ।
नेपाल आयल निगमका अनुसार मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट ७५ देखि ८० प्रतिशत डिजेल आउने गरेको हो । निगमका अनुसार वार्षिक माग १७ लाख किलोलिटर डिजेल आयात हुने गरेकामा अहिले १३ लाख किलोलिटरसम्म डिजेल पाइप लाइनबाट आयात हुन थालेको हो ।
अमलेखगन्जमा पाइप लाइनमार्फत आयात भएको डिजेल अन्य ठाउँमा वितरण हुने गरेको छ । ठुलो परिमाणमा पाइप लाइनमार्फत डिजेल आयात हुन थालेपछि आयात गर्दा लाग्ने ढुवानी खर्च वार्षिक ४९ करोड रुपियाँभन्दा बढी रकम बचत हुन गरेको निगमले जनाएको छ । पाइप लाइनबाट डिजल आयात हुन थालेपछि चुहावट दर घट्नका साथै ढुवानी गर्ने ट्याङ्करको सङ्ख्या घटेको छ ।
निगमका अनुसार पाइप लाइनबाट ट्याङ्करमार्फत इन्धन आयात गर्दा लामो दुरी, ट्राफिक जाम, भन्सार जाँचपासमा लाग्ने समय पनि बचत भएको छ । त्यसै गरी श्रम शक्ति, मेन्टिनेन्सलगायतका क्षेत्रमा हुने खर्च करिब ५० करोड रुपियाँ वार्षिक रूपमा थप जोगिएको निगमको भनाइ छ । २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँबाट र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल प्रविधिमार्फत दिल्लीबाट संयुक्त रूपमा रिमोट थिचेर पाइप लाइनको उद्घाटन गर्नुभएको थियो । सोही दिनबाट पाइप लाइनबाट नियमित रूपमा नेपालमा डिजेल आपूर्ति भइरहेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको नौ महिनामा ९१ अर्ब २६ करोड रुपियाँ १० लाख १३ हजार ३७५ किलोलिटर डिजेल आयात भएको छ । निगमले आव २०८०/८१ मा तीन खर्ब ५६ अर्ब ७२ करोड रुपियाँ बराबरको २८ लाख ३४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो ।
निगमका अनुसार पेट्रोलियम पदार्थको कुल कारोबारमध्ये सबैभन्दा धेरै ५० प्रतिशत कारोबार डिजेलको हुने गरेको छ । यस्तै २४ प्रतिशत पेट्रोल, १९ प्रतिशत ग्यास, छ प्रतिशत हवाई इन्धन र एक प्रतिशत मटितेलको कारोबार हुने गर्छ । डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठुला सवारीसाधनमा बढी प्रयोग हुने गर्छ । औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशतले डिजेल खपत हुने गरेको छ । पछिल्लो समय बिजुलीका सवारीसाधनको प्रयोग बढ्दै गएकाले पनि डिजेलको खपतमा कमी आएको छ । गत वर्ष मासिक एक लाख १४ हजार किलोलिटर डिजेल खपत हुने गरेकामा हाल मासिक एक लाख छ हजार ६८६ किलोलिटरमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्