राजनीति

डाँडामा बसेर लाखौँ कमाउन सम्भव छ : महामन्त्री थापा



काठमाडौँ, १६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उनले आफूले कीर्तिपुरको डाँडामा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको उल्लेख गरे । कुनै पनि डाँडामा बसेर लाखौँ कमाउने विषय कल्पना र सपना रहेको बताउँदै त्यो सम्भव हुने आधार भएको जिकिर गरे ।

उनले भने, “मैले कीर्तिपुरको डाँडा भनिसकेपछि तपाईंहरू सबैलाई एउटा प्रसंग याद आउँछ । त्यो प्रसंग कोट्याएको दिनको म छोटकरीमा सम्झन्छु, एउटा डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिन्छ भन्ने इमाजिनेसनको कुरा मैले गरे, कतिलाई रमाइलो कुरा पनि भयो,”  “तर, त्यो इमाजिनेसन हो, त्यो ड्रिम हो, सम्भव छ । सम्भव केले छ भन्दा, एउटा व्यक्तिलाई हातमा सीप र क्षमता दियो भने त्यो सम्भव छ ।”