Banner News

रोजगारमा अझ सशक्त नीति र निगरानी संयन्त्र आवश्यक : सभामुख



काठमाडौँ, १८ वैशाख । सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास, प्रविधिमैत्री वातावरण, समान अवसर र गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य हुनुपर्ने आवश्यकता औँल्याएका छन् । 

विश्व मजदुर दिवस (मे १) का अवसरमा शुभकामना सन्देश जारी गर्दै  उनले बालश्रम, श्रमिक महिला–पुरुषबीचको असमानता, अपारदर्शी रोजगार प्रणाली, वैदेशिक रोजगारमा शोषणजस्ता समस्याले हामीलाई अझ सशक्त नीति र निगरानी संयन्त्र आवश्यक छ भन्ने कुराको सङ्केत गरेको उल्लेख गरेका छन् । 

उनले भनेका छन्, “नेपालको संविधानले श्रमिकका अधिकारलाई आर्थिक तथा सामाजिक न्यायको आधार मानेर संस्थागत गरेको छ । धारा ३४ मा ‘श्रमको अधिकार’ सुनिश्चित गरिएको छ, जसमा उचित पारिश्रमिक, सुरक्षित र सम्मानजनक श्रम वातावरण, सामाजिक सुरक्षालगायतका विषयमा राज्यको स्पष्ट जिम्मेवारी तोकिएको छ ।”

आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा श्रमिकहरूको भूमिका महत्वपूर्ण रहेको र कृषि, निर्माण, सेवा, उद्योग, पर्यटन वा वैदेशिक रोजगारलगायत क्षेत्रमा श्रमिकको पसिना र योगदानले राष्ट्रको समृद्धि सम्भव बनाउने सभामुख घिमिरेको भनाइ छ ।