राजनीति

सरकार र श्रमिक वर्गबिच समन्वयको वातावरण निर्माण गर्नुपर्छ : उपराष्ट्रपति यादव



काठमाडौँ, १८ वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबिच समन्वयको वातावरण निर्माण गरी नेपाललाई आर्थिक रुपमा बलियो, समृद्ध र सामाजिक रूपमा न्यायपूर्ण बनाउन सबै क्षेत्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

विश्व मजदुर दिवस (१ मे) का अवसरमा शुभकामना सन्देश दिँदै उनले दिवसले बालश्रमको निषेध, महिला श्रमिकलाई सुरक्षा र अनौपचारिक श्रम क्षेत्रको संरचना सुधार गर्न सबैलाई दत्तचित्त भई क्रियाशील हुन उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत व्यक्त गरे । उपराष्ट्रपति यादवले समाज र राष्ट्रको विकास निर्माण तथा उन्नयनमा श्रमजीवीहरूको श्रम, मेहनत, समर्पण र सङ्घर्ष अमूल्य रहेको बताए ।

शुभकामना सन्देशमा भनिएको छ, “यो दिवस श्रमजीवीहरूका लागि सुरक्षित, सम्मानजनक र समावेशी कार्य एवं समान पारिश्रमिकका लागि वातावरण सुनिश्चित गर्ने दृढ सङ्कल्प र प्रतिबद्धता व्यक्त गर्ने अवसर हो । उहाँहरूको अधिकार रक्षा र कल्याणबाटै हाम्रो समाज र मुलुक थप न्यायपूर्ण र समृद्ध बन्न सक्दछ ।”