राजनीति

स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक: राष्ट्रपति पौडेल



काठमाडौँ, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् ।

विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरे । 

उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे । श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् । 

सन्देशमा उनले भनेका छन्, “मुलुकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास लिएको छु । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ ।”